बागलुङ, ७ कात्तिक– आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आइतबार बागलुङमा विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाईएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा बागलुङ बजारमा सप्ताहव्यापी कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईएको हो ।
‘स्वास्थ्य पर्यावरण र समुन्नत स्वास्थ्यका लागि आयुर्वेद’ भन्ने नाराका साथ यो बर्षको धनवन्तरी जयन्ती मनाईएको हो । आइतबार आयोजित समारोहमा बक्ताहरुले परम्परादेखि चल्दै आएको आयुर्वेदिक चिकित्सा पद्धती आधुनिक युगमा महत्वपूर्ण रहेको बताए । आयुर्वेद क्षेत्र राज्यका कारण पछाडि पर्दै गएको प्रसंग स्मरण गर्दै बक्ताहरुले मानिसहरुले छिटोछरितो उपचार खोज्ने तर दिगो नखोजेकै कारण आयुर्वेद चिकित्सा पछि परेको बताए ।
कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आयुर्वेद चिकित्सा पद्धती मानव जीवनका लागि उपयोगी रहेको बताए । उनले आरोग्य जीवनका लागि जीवनयापन पद्धतीमा सुधारको आवश्यकता रहेको बताए ।
औषधालयले सरसफाई, निशुल्क उपचार तथा पञ्चकर्म, शुभकामना आदानप्रदान, अन्तरक्रिया लगायतका विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा यो दिवस मनाईरहेको छ । औषधालय व्यवस्थापन समितिका सदस्य ललिता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत औषधालयका प्रमुख डा.सरोज कुमार राय र सञ्चालन डा. कमल बिक्रम पौडेलले गरेका थिए । औषधालयले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयोजना गरेको अभिमुखीकरण पनि आइतबार नै समापन भएको छ ।