काठमाडौं, १६ कात्तिक– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचनमा सबैभन्दा धेरै नेकपा एमालेले २ करोड २० लाख रुपैयाँ खर्च गर्न पाउने भएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको १ सय १० सीटकै लागि बन्दसूची कायम भएकाले उसले अधिकतम २ करोड २० लाख रुपैयाँ खर्च गर्न पाउने भएको हो ।
दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको १०९ सीटका लागि बन्दसूची कायम भएको छ । उसले २ करोड १८ लाख खर्च गर्न पाउनेछ । तेस्रोमा नेपाली कांग्रेसबाट १०८ जनाको उम्मेदवारी बन्दसूचीमा कायम भएको छ । उसले २ करोड १६ लाख खर्च गर्न पाउनेछ ।
चौथोमा रहेको नेकपा माओवादी केन्द्रका १०७ जना उम्मेदवारको नाम बन्दसूचीमा कायम भएको छ । उसले २ करोड १४ लाख खर्च गर्न पाउनेछ । पाँचौंमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि माओवादीकै जति १०७ जनाको उम्मेदवारको नाम बन्दसूचीमा कायम भएको छ । उसले पनि २ करोड १४ लाख नै खर्च गर्न पाउनेछ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका १०६ जना उम्मेदवारको नाम कायम भएको छ । उसले २ करोड १२ लाख, नेकपा एकीकृत समाजवादीका १०४ जना उम्मेदवारको बन्दसूची कायम भएको छ । उसले २ करोड ८ लाख खर्च गर्न पाउनेछ ।