बागलुङ, १२ मंसिर– प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ क्षेत्र नम्बर १ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन् ।
बागलुङ १ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ १ (१)मा विजयी दीपेन्द्रबहादर थापा र बागलुङ १ (२)बाट निर्वाचित डिल्लीराम सुवेदीले घरदैलो गरेर मतदातालाई धन्यवाद दिएका हुन् ।
बागलुङ १ (१) बाट निर्वाचित थापाले आफ्नो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताए । ‘पहिले मत माग्यौँ, अब उहाँको समस्या के छ माग्छौँ, हामीहरूले सक्ने समाधान गर्छौ’ थापाले भने ।
संघीय सांसद चित्रबहादुर केसीले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताए । उनले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्नेगरी काम गर्ने बताए ।
‘अहिले पनि बागलुङका जनताले राम्रो स्वास्थ्योपचार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी पाउन सकेका छैनन्’ केसीले भने, ‘हामीलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ ।’