बागलुङ, १४ मंसिर– जिल्लाको कुश्मीशेरामा जलबिद्युत आयोजना सञ्चालन गरिरहेको बाराही हाइड्रोपावरले सर्वसाधारणको लागि मंसिर २१ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र जैमिनी नगरपालिकाका स्थानीयलाई २ लाख ५० हजार कित्ता आइपिओ वितरण गरेको थियो ।
सो समयमा बिक्री हुन नसकेको १ लाख ४ हजार कित्ता सेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा आइपिओ जारी गर्न लागेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको कम्पनीले बताएको छ ।
यो बाहेक बाँकी ५ लाख १५ हजार २ सय २० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि वितरण गर्न लागेको हो । यो सेयर छिटोमा मंसिर २६ गतेसम्म बिक्रीमा रहनेछ । उक्त अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा भने पुस ६ गतेसम्म बिक्री लम्बिनेछ । उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ बि माइनस रेटिङ प्रदान गरेको छ ।