म्याग्दी, १७ मंसिर– तडकभडक छाडेर मतदातासंग जितको खुसी साट्न म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित रेशमबहादुर जुग्जालीले फरक शैली अपनाएका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक जुग्जालीले रचनात्मक काम गरेर विजयोत्सव मनाउन थालेका हुन् । भोजभतेरमा हुने खर्च कटाएर विपन्नलाई सहयोग पुग्ने काम गरेर विजयोत्सव मनाउन लागेको जुग्जालीले बताए ।
मंगला गाउँपालिका कुहुँको भिरकटेराका फाले र रतिकला फगामीको जीर्ण घर मर्मतका लागि जुग्जाली जस्तापाता बोकेर पुगेका हुन् । सामाजिक सुरक्षा भत्ताको भरमा जीविकोपार्जन चलाउँदै आएका असक्त दम्पत्तिको जीर्ण घर मर्मत गर्नको लागि सांसद जुग्जालीले ३६ थान जस्तापाता उपलब्ध गराएका थिए ।
भोजभतेर गर्ने खर्चले केही रचनात्मक काम गरेर विजयोत्सव मनाउनुपर्छ भन्ने सुझाव अनुसार विपन्न नागरिकलाई सहयोग गर्ने कार्यक्रम बनाएको जुग्जालीले बताए । साथीभाई र आफन्तले उपलब्ध गराएको सहयोग सामाजिक क्षेत्रमा खर्चिएको र मंगला, मालिका र धवलागिरी गाउँपालिकामा पनि कार्यक्रम गर्ने जुग्जालीले जानकारी दिए ।
नेपाली कांग्रेसका स्थानीय नेता रिप्रसाद पुन (रविन), नेकपा माओवादी केन्द्रका पृथीलाल विक, नविन किसान लगायतले नवनिर्वाचित प्रदेश सांसद जुग्जालीलाई फगामी दम्पतीको समस्याका बारेमा जानकारी गराएका थिए । कांग्रेस र माओवादीका कार्यकर्ताहरुले श्रमदान गरेर जस्तापाता फेरिदिने कांग्रेसका नेता पुनले जानकारी दिए ।