बागलुङ, १९ मंसिर– बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले संक्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । २०६६ मा बेसलाइन सर्वे हुँदा १३ प्रतिशतमा संक्रमण देखिएको नारायणस्थानमा २०७९ को प्रारम्भिक परीक्षणमा एक प्रतिशत भन्दा कम संक्रमण भएको नतिजा आएको हो ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय बागलुङले नारायणस्थानमा आम औषधि सेवन अभियानअघि प्रारम्भिक परीक्षण गरेका थिए । नारायणस्थानमा तीन सय ४७ जनामा गरिएको परीक्षणमा एक जनामा मात्रै हात्तीपाइले रोगका जीवाणुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिनुभयो ।
यसअघि सन् २०१४ मा तीन प्रतिशत, २०१६ मा दुई दशमलव तीन प्रतिशत, २०१८ मा चार दशमलव ६७ प्रतिशत र २०२१ मा गरिएको प्रारम्भिक परीक्षणमा २.६४ प्रतिशतमा हात्तीपाइले रोगका जीवाणुको संक्रमण देखिएको थियो ।
२०७८ मा गरिएको परीक्षणमा नारायणस्थानमै दुई दशमलव ६४ प्रतिशतमा संक्रमण देखिएपछि बागलुङमा पछिल्ला दुई वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरिएको थियो । कार्यालयले माघ अन्तिम साता १४ औंँ पटक स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गर्दैछ ।
विश्वव्यापी मापदण्डअनुसार परीक्षण गरिएकामध्ये दुई प्रतिशतभन्दा कममा संक्रमण नदेखिएसम्म पटक–पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्नुपर्छ, नारायणस्थानमा गत वर्षदेखिएकाले अहिले पनि अभियान सञ्चालन गर्नुपरेको स्वास्थ्य कार्यालयको भनाई छ ।
यो पटकको प्रि–टास पास भए एकपटक मात्रै आम औषधि सेवन अभियान सञ्चालन गरेर जिल्ला पास हुने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका ल्याब टेक्निसियन निरीक्षक रामबालक रायले बताए । यसपटक पनि ‘प्रि–टास’ पास नभए आम औषधि सेवनको विधि परिवर्तन गरी थप औषधिसहित दुई वर्षे अभियान सञ्चालन गर्ने रणनीति तालिम केन्द्रले बनाएको थियो ।