फाइल तस्बिर
पर्वत, २० मंसिर– मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो ।
मिडिल मोदी हाइड्रोपावर लिमिटेडले २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब चार अर्बको लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले बताए । निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको थियो ।
आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत् १ सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी छ । चौध दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।
आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन् । प्रसारण लाइनसमेतको निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताए ।
सुरुआतमा दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी गु्रपले गरेको हो । तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मंसिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भएपनि प्रभावित क्षेत्रका नागरिकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको थियो ।