बागलुङ, २१ मंसिर– ६ वटा एकाईमा सञ्चालन हुने आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङको १६ औं वार्षिक साधारणसभा मंगलबारदेखि काठेखोला गाउँपालिका–७ रेशबाट शुरु भएको छ ।
रेश सेवा केन्द्र अन्तरतका शेयर सदस्यहरुको सहभागिता रहेको साधारणसभामा सहकारीमा सदस्यको भूमिका, आयआर्जन र वचतका लागि सहकारी र सदस्यबीचको सम्बन्ध, वित्तीय साक्षरताका विषयमा सहजीकरण गरिएको थियो ।
संस्थाको गत आर्थिक वर्षको समिक्षा, चालु आर्थिक वर्ष र १० वर्षे रणनीतिक योजना अन्तरगत बनेका योजना र कार्यक्रमहरुको बारेमा सदस्यहरुबीच छलफल भएको अध्यक्ष हुमा कुमारी जिसी.(अञ्जु) ले जानकारी दिइन् ।
कार्यक्रममा संस्थाका सचिव ललिता थापाले संस्थाको प्रगति प्रतिवेदन र सम्पादक राम बहादुर जिसीले समग्र अवस्थाका बारेमा सहजीकरण गरेका थिए । साधारणसभाको उद्घाटन काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले गरेका थिए ।
सो अवसरमा उत्कृष्ट कर्जा कारोवार गर्ने लाली थापा, दीर्घकालिन बचततर्फ उत्कृष्ट कारोवार गर्ने सीता गुरुङ, उत्कृष्ट परिवारतर्फ प्रेम लामिछाने, कमला क्षेत्री, निश्चल लामिछाने र सफल लामिछानेको परिवारलाई पं्रशसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष प्रेम लामिछाने, वडा सदस्य प्रेमबहादुर कार्की र शारदा थापालाई सम्मानित गरिएको थियो ।