म्याग्दी, २६ मंसिर– जिल्लाको बेनीबजारसँगै जोडिएको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् ।
मल्लाजमा पर्ने सडक स्तरोन्नतिका लागि ५० करोड बजेटका आयोजना सञ्चालन भएका हुन् । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले मल्लाजमा सडक, अस्पताल भवनलगायत पूर्वाधारका आयोजना सुरु गरिएको बताए ।
वारीबेनी मल्लाज सडक गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति गर्न लागिएको होभने भुरतुलादेखि मल्लाजहुँदै लेकफाँट जोड्ने सडक सडक डिभिजन र फड्केढुंगाको दोवदोवेदेखि मल्लाज सम्मको सडक सहरी विकास कार्यालयमार्फत स्तरोन्नति सुरु भएका हुन् ।
वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबिन र मेसिनरी पर्खाल निर्माण गर्न प्रदेश सरकारले एक करोड र जलजला गाउँपालिकाले एक करोड बजेट विनियोजन गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।
कालिका इन्फ्रास्टक्चर प्रालिले ठेक्का पाएको यो सडक दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ । मल्लाज–लेकफाँट सडक स्तरोन्नतिका लागि ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रक्सनले कामलाई तीव्रता दिएको छ ।
३३ महिनामा सम्पन्न गर्नेगरी मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक ७ मिटर चौडाइका दरले कालोपत्रे र ढलानका साथै नाली, पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधारको काम भइरहेको आचार्यले बताए ।
यसैगरी सहरी विकास कार्यालय बागलुङमार्फत दोवदोवेदेखि मल्लाजहुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको काम थालेको छभने मल्लाजमै १२ करोडको लागतमा पाँच शैया क्षमताको अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको गाउँपालिकाले जनाएको छ ।