म्याग्दी, १ पुस– जिल्लाका ग्रामीण क्षेत्रमा चिउरी, पैयुँ प्रजातिका रूख नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदँ मौरी चरन क्षेत्रको अभाव भएको छ ।
मौरीलाई चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकहरुले बताएका छन् । सामुदायिक वनले चिउरी, पैयुँ र दुदिलाका बोटहरु काटेकाले पुष्परसका बोटको अभावले मह उत्पादनमा कमी आएको उनीहरुको भनाइ छ ।
जिल्लाका बेनी नगरपालिकालगायत मंगला, धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौर लगायतका गाउँमा व्यावसायिक रुपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यसवर्ष मह उत्पादनमा कमी आएको बताएका छन् ।
मालिका गाउँपालिका वडा नं. २ का मौरीपालक कृषक टेकनाथ जैसीले तोरी, वुकी, पैयुँ, दुदिलोलगायत फूल तथा वनस्पतिमा यसवर्ष रसको मात्रा घटेको बताए । ‘मह उत्पादनका लागि उपयुक्त मानिएको महिनामा पनि कम मह उत्पादन हुनुका कारण पुष्परसमा कमी आउनु नै हो’ जैसीले भने ।
मंगलाका कृषि प्राविधक जगत बानियाँले अत्याधिक वर्षा र त्यसपछि सुक्खा हावा चलेका कारण पुष्परसमा कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताए । चरन क्षेत्र र बढ्दो रासायनिक मलको प्रयोगले परागसेचन प्रक्रियामा प्रभाव परेकाले मह उत्पादनमा कमी आएको बानियाँले बताए ।
कृषि ज्ञान केन्द्र म्याग्दीले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन मौरीपालक कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेषगरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ ।