बागलुङ, २ पुस– आवश्यक पूर्वाधार भएपनि सरकारी निकायले ओएनएम सर्भे नगर्दा बुर्तिवाङमा जिल्ला अस्पताल सञ्चालनमा आउन सकेको छैन । सदरमुकाममा रहेको अस्पताललाई २०६७ सालमा अञ्चल अस्पताल बनाउँदा बुर्तिवाङमा जिल्ला अस्पताल बनाउने तयारी थियो ।
कोरोनाकालमा धौलागिरि अस्पताल उपप्रादेशिकमा बढुवा भएपछि उपप्रादेशिक अस्पतालमा सबै सेवा शुल्क लिएर दिइन्छ । तर जिल्ला अस्पतालबाट पाउने निःशुल्क सेवाबाट बागलुङवासी वञ्चित छन् । १२ वर्षसम्म जिल्ला अस्पताल नबन्दा जनताले सेवा नपाएको केन्द्रका प्रमुख डा. नीरज सुवेदीले बताए ।
‘विशेषज्ञ अस्पतालमा निःशुल्क सेवा हुँदैन, निःशुल्क सेवा पाउन जिल्ला अस्पताल चाहिन्छ,’ डा. सुवेदीले भने, ‘धेरैपटक प्रयास भयो, राजनीतिक नेतृत्व र मन्त्रालयबाट चासो दिइएन ।’ अब नगर अस्पतालको अवधारणा आइसकेकोले जिल्ला अस्पताल बनाउन कठिन हुने सुवेदीको भनाई छ ।
हालै निर्वाचित प्रदेशसभा सदस्य द्रोण कुँवरले भने आफ्नो मुख्य एजेन्डाको रूपमा बुर्तिवाङमा अस्पताल बनाउने भएको बताए । ‘हामीले उपचार नपाउने ?’ कुँवरले भने, ‘रोकिएको कारण खोजी गरेर अस्पताल स्थापित गराउन तत्काल पहल गर्छौं ।’
डा. सुवेदीका अनुसार अस्पतालमा दैनिक एक सय २० देखि डेढसय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा दुई जना डाक्टर कार्यरत छन् । मासिक २० वटासम्म अपरेसन भएपनि अस्पतालले मान्यता नपाउँदा कतिपय सेवा रोकिने र आवश्यक खर्च पनि बेरुजु बनिरहेको छ ।
मन्त्रालयबाट आश्वासन आएकोले सबै मिलेर भवन बनाए पनि अस्पताल बनाउन नसकिएको निर्माण समितिका अध्यक्ष तुलसी अर्यालले बताए । पूर्वाधार अस्पताल बनाउने खालकै भएपनि ओएनएम ढिला हुँदा अस्पतालको प्रक्रियामा नगएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।