बागलुङ, ३ पुस– बागलुङ नगरपालिकाले चालू वर्षमा निश्चित खेतीलाई मात्र प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ । ससर्त अनुदानको २० लाखबाट बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती प्रवद्र्धन गर्न थालिएको छ ।
वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू वर्षमा ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवद्र्धन गर्न थालिएको हो । नगरपालिकाको कृषि शाखा प्रमुख राहुल केसीका अनुसार नगरका १४ वटै वडामा मकै प्रवद्र्धनका लागि १० लाख खर्च गरिनेछ ।
‘तित्याङमा यसवर्ष १० लाखको सुन्तला प्रवद्र्धन र १० लाखकै तरकारीखेती प्रवद्र्धनका लागि काम गरिनेछ’, केसीले भने, ‘यसवर्ष किसानको सुन्तला बगैँचा व्यवस्थापन, उपचार, बगैँचा र सुन्तलाको नर्सरी स्थापना गर्ने गरी प्रस्ताव आह्वान गरेका छौँ ।’
पछिल्लो समय नगरपालिकाले उन्नत जातको मकैखेती प्रवद्र्धन गरिरहेको छ । यसवर्ष मकैको बीउदेखि उपकरणलगायत कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरेको कृषि शाखाले जनाएको छ । नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रवद्र्धन कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको तित्याङका वडाध्यक्ष राजु थापाले बताए ।
तित्याङमा तरकारी खेतीका लागि चार हाइटेक टर्नेल र सिँचाइको कार्यक्रमका लागि यसवर्ष १० लाख खर्च गरिनेछ । संघीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेती प्रवद्र्धनमा नगरपालिकामार्फत बजेट विनियोजन गरेको छ ।