म्याग्दी, ४ पुस– म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन सवस्टेशन र प्रशारण लाइन निर्माण सुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिकाको विमदेखि रघुगंगा गाउँपालिका राहुघाटको अम्वाङ जोड्ने १ सय ३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माण थालेको हो ।
प्राधिकरणको डाँडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले सवस्टेशनका उपकरण राख्ने ठाउँ बनाउन शुरु भएको र प्रशारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको जानकारी दिए ।
सन् २०२१ को डिसेम्वर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधी ३० महिनाको छ ।
ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माणलाई तिव्रता दिएको जनाएको छ । २५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन् ।
टावर निर्माण हुने जग्गाको पहिचान, नाचजाँच र अधिग्रहणका लागि मुआब्जा वितरण सुरु भएको छ । २२ वटा टावर रहने जग्गाका धनीलाई एक करोड ९० लाख २८ हजार ७ सय १० मुआब्जा वितरण गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन भएको थियो । उपसमितिको सिफारिसको आधारमा प्रतिरोपनी नौ लाखदेखि १३ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा निर्धारण भएको छ ।