म्याग्दी, ५ पुस– जिल्लामा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले गोदाममै थन्किएका छन् । जंगलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् ।
विगत ६ वर्षदेखि धौलागिरि गाउँपालिकाको धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट उद्योग सञ्चालन गरी अल्लोका कपडा उत्पादन गर्दै आएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको गुनासो गरे ।
थापाले अल्लोबाट उत्पादित कपडालाई कोट, पाइन्ट, टोपी, झोला, जुत्ता लगायतका सामग्री बनाउन बेनी, पोखरा र काठमाडौँ लगायतका ठाउँमा बजारीकरण गर्दै आउनुभएको छ । दुई वर्षयता विदेशमा अल्लोको माग घट्दा उद्यमी समस्यामा परेको थापाको भनाई छ ।
‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण घट्दै गएको छ, मेरो उद्योगमा मात्र पाँच सय मिटर बढी कपडा गोदाममै थन्किएको छ’, थापाले भने । अल्लोको कपडा उत्पादन गरेर बिक्री गर्दै आएका थापाले नौ जनालाई रोजगारी दिएका छन् ।
गाउँपालिकाको गुर्जा, मुदी, लुलाङ, मल्कवाङ लगायतका जंगलमा खेर गइरहेको अल्लोलाई स्थानीयबाट संकलन गरी उद्योगमा प्रशोधन गरी कपडा तयार गरिन्छ । गतवर्ष स्थानीयबाट तीन हजार किलो अल्लोको पुवा संकलन गरेको उद्योगले यसवर्ष सात हजार किलोसम्म अल्लोको पुवा खरिद गर्ने जनाएको छ ।
उद्योगमा कपडा बुन्नेसँगै जंगलमा अल्लोको पुवा संकलनबाट स्थानीयले अम्दानी गर्दै आएका छन् । उद्योगले अल्लोको पुवालाई प्रतिकिलो एक सय २० रुपैयाँमा खरिद गर्दै आएको उद्यमी थापाले जानकारी दिए । ‘उद्योगको क्षमता बढ्दै गएकाले उत्पादित सामग्रीको बजारको खोजी थालिएको छ’, उनले भने ।
उद्योगमा अहिलेसम्म करिब २५ लाख लगानी भएको छ । उद्योगबाट उत्पादन भएका कपडामध्ये अल्लो मात्रबाट निर्मित कपडाको प्रतिमिटरको ८ सय र कटन मिसाएको ५ सय ५०, ऊन मिसाएको ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।