म्याग्दी, ६ पुस– जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घारमा बालबालिकालाई आवश्यक पर्ने पौष्टिक आहार गाउँमै उत्पादन गर्ने तयारी गरिएको छ ।
सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको हो ।
सामाजिक विकास कार्यालयको सक्षम महिला, समानान्तर पाइला कार्यक्रममार्फत दुई लाख बजेटबाट तालिम सञ्चालन गरिएको हो । तालिममा गहुँ, मकै र भटमासको पिठोलाई मिश्रण गरेर घरमै सर्वोत्तम पिठो बनाउने ज्ञान सीप प्रदान गरिने छ ।
जंकफुडको आयात घटाउने, व्यावसायिक रुपमा उद्यम सञ्चालन गरेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने, आर्थिक रुपमा सक्षम र उद्यमशीलताको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरेको मिलन म्याग्दीले जनाएको छ ।
सर्वोत्तम पिठो ६ महिना उमेर पुगेका बच्चाको लागि उपयुक्त पौष्टिक आहार मानिन्छ । स्थानीयस्तरमा ज्ञान सीप नहुँदा बच्चाले मन पराउने सर्वोत्तम पिठो बजारबाट खरिद गरिदै आइएको छ । सीप भएपछि घरमै उपलब्ध कृषिउपजको प्रयोग गरेर सर्वोत्तम पिठो बनाउन सकिने स्थानीय महिलाले बताउँछन् ।