म्याग्दी, ८ पुस– जिल्लाको बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली खेती गर्न छाडेको एक दशक भयो । खाद्यबाली छाडेर व्यावसायिक सुन्तला खेती गरेका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ ।
बास्कुना र सुर्केमलामा गरी करिब सात सय सुन्तलाका बोट रोपेका खत्रीको बगँैचामा यतिबेला सुन्तला टिप्ने चटारो छ । दुई ठाउँमा सुन्तला खेती गर्नुभएका खत्रीको एउटा बगैँचाबाट मात्रै ७ लाख ९० हजारमा सुन्तला बिक्री भएको छ ।
‘गतवर्ष सात लाखको सुन्तला बिक्री गरेको थिएँ, यसवर्ष दुई वटा बगैँचामा गरेर १० लाख बढीको बिक्री भएको छ’ खत्रीले भने । खाद्यबालीबाट लगानीअनुसारको प्रतिफल नआउने भएपनि सुन्तला खेतीबाट सन्तुष्ट बनेको खत्रीले बताए ।
बास्कुनाकै देवी हुमेन क्षेत्रीको फूलबारीमा पनि यतिबेला सुन्तला टिप्ने चटारो छ । उनको बगैचामा करिब आठ सय सुन्तलाका बोट छन् । गत असोजमै नवलपरासीका व्यवसायीले सुन्तलाको पेस्की रकम दिएर सुन्तला खरिद गर्ने टुंगो लगाएका थिए ।
क्षेत्रीको मात्रै होइन बास्कुना र सुर्केमेलाका करिब दुई दर्जन घरधुरीमा व्यवसायीले फल नलाग्दै पेस्की दिएर सुन्तला बोटबाटै खरिद गर्ने गरेका छन् । ‘यो वर्ष करिब ८ लाखको सुन्तला बिक्री हुने अपेक्षा छ, सबै सुन्तला ठेकेदारले लैजाने समझदारी भएकोले बजार खोज्न भौतारिनुपर्ने झण्झट छैन’ क्षेत्रीले भने ।
बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सुन्तलाबाट आकर्षक आम्दानी हुने र सहजै बजार पाइने भएपछि गाउँमा सुन्तला खेती गर्ने लहर चलेको कृषक तिलकुमारी गुरुङले बताइन् ।
यसवर्ष बास्कुनामा सबैभन्दा थोरै बिक्री गर्नेले एक लाख र बढी बिक्री गर्नेले १० लाखसम्म सुन्तलाबाट आम्दानी गरेका छन् । बास्कुनासँगै जोडिएको बेनी–३ भकिम्लीको राखु गाउँका कृषकले यसवर्ष उत्पादन बढेकाले एक करोड बराबरको सुन्तला बिक्री हुने अपेक्षा गरेका छन् ।