मुस्ताङ, ९ पुस– जिल्लामा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । मुस्ताङमा यसवर्ष नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ । बस्ताकोटीका अनुसार मुस्ताङको तीन सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती हुन्छ । गत वर्ष ३३ करोड मूल्य बराबरको छ हजार सात सय २२ मेट्रिकटन आलु निकासी भएको बस्ताकोटीले जानकारी दिए ।
‘स्थानीय तहसँग समन्वयमा आलुको क्रप कटिङ गरिएको थियो’, उनले भने, ‘कूल उत्पादित आलुमध्ये २० प्रतिशत बिउ र १० प्रतिशत जिल्लामै खपत हुन्छ ।’
हिमाली हावापानीमा प्राङ्गारिक विधिबाट विषादीको प्रयोगविना उत्पादन भएको मुस्ताङी आलुको बजारमा उच्च माग रहेको कृषक आजित थकालीले बताए । ‘आलु एक पाथीको एक सय ५० देखि दुई सय १० सम्ममा बिक्री हुने गरेको छ’ थकालीले भने, ‘प्रतिपाथीमा औसत तीन किलो आलु हुन्छ ।’
थकालीका अनुसार बारीमै व्यापारीले अग्रीम पैसा दिएर आलु खरिद गर्छन् । मुस्ताङ घुम्न जानेले कोसेलीका रुपमा आलु किनेर लैजाने गर्छन् । मुस्ताङको आलु स्वादिलो हुने भएकाले माग बढेको हो । अन्य ठाउँको तुलनामा मुस्ताङमा उत्पादित आलुको स्वाद फरक हुने गर्छ ।