काठमाडौं, ११ पुस– नेपाल सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ ।
कोभिड–१९ संक्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो र दोस्रो पूर्ण खोप लगाई बुस्टर डोज लगाएकालाई थप डोज दिने तयारी छ ।
मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ को संक्रमण छिमेकी देश भारत र चीनमा बढिरहेकाले नेपालमा उक्त संक्रमण भित्रिन नदिन सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।
उनका अनुसार नेपालमा हालसम्म बीएफ–७ भेरिएन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम छ ।
मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकालाई थप मात्रा दिने तयारी गरिरहेको बताइएको छ ।
अहिले दुई मात्रा लगाएकालाई दिने बुस्टर मात्रा खोपका लागि १५ लाख डोज मगाइएको र अबको दुई हप्तापछि खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकिएको छ भने बाँकी रहेकामध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो ।