बागलुङ, १८ पुस– धौलागिरि अस्पताल बागलुङमा आइतबार सम्पन्न मानवअंग प्रत्यारोपण बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले मृगौला प्रत्यारोपण गरेर मानिसले सहज जीवन जीउन सक्ने बताएका छन् ।
नेपालमा मृगौलाको प्रत्यारोपणलाई जटिल समस्याको रुपमा लिने गरिएपनि आजकल डाइलासिसभन्दा प्रत्यारोपण सुरक्षित र भरपर्दाे भएको चिकित्सक बताउँछन् । नेपाल सरकारले मृगौलाको उपचारमा ४ लाख ५० हजारसम्म छुट दिने नीति बनाएकोले अधिकांसले सोही मूल्यमा उपचार तथा प्रत्यारोपण गर्न सक्ने बताइएको छ ।
‘सरकारले दिने अनुदानमै धेरैको उपचार संभव छ, त्यसैले प्रत्यारोपणमा सबैले ध्यान दिनु राम्रो छ’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुंगानाले भने, ‘डाइलासिस अस्थायी उपचार हो ।’ जटिल समस्या भए मृगौलालाई आराम दिन तथा इन्फेक्सन भएमा डाइलासिस गर्ने व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डा. पुकार श्रेष्ठले पनि प्रत्यारोपणमा जोड दिन आग्रह गरे । बागलुङ घर भई प्रत्यारोपण केन्द्रको प्रमुख भएका श्रेष्ठले बिरामीलाई डाइलासिस गरेर लामो समय तनाब लिनुको साटो प्रत्यारोपण गरेर दिगो उपचारपछि ढुक्क बन्न आग्रह गरे ।
पहिला भारत र अन्य देशमा पुगेर मृगौला प्रत्यारोपण गर्न सकिने अबस्था हटेको छ । चिकित्सकका अनुसार नेपालमै ९९ प्रतिशत अपरेशन सफल भएका छन् । स्थायी उपचारमा लाग्न उनीहरुले आग्रह गरेपछि अन्तरक्रियामा सहभागी धौलागिरि अस्पतालमा उपचार गरिरहेका ४३ जना बिरामीले पनि चासो राखेका छन् ।
धौलागिरि अस्पताल बागलुङमा हाल ५ वटा मेसिनबाट मृगौलाका बिरामीले डाइलासिस गरिरहेका छन् ।