म्याग्दी, २० पुस– बेनी नगरपालिकाको सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोगबिना बिरामीको उपचार गर्नेगरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो ।
‘प्राविधिक र पूर्वाधार तयार भएपनि आन्तरिक र जनशक्ति व्यवस्थापन गर्न बजेट अभाव हुँदा प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउन नसकिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।
पर्यटन मन्त्रालयको ५० लाख र १ करोड तातोपानी कुण्ड व्यवस्थापन समितिको गरी १ करोड ५० लाख लगानीमा पाँचतले भवन निर्माण गरिएको छ । उपभोक्ता समितिमार्फत भवन निर्माण गर्दा लागेको ६९ लाख ऋण तिर्न बाँकी रहेको छ ।
कोरोनाका कारण तातोपानी कुण्ड सञ्चालन नहुँदा आम्दानीको स्रोत गुमेपछि सहकारीबाट ६९ लाख ऋण लिएर उपभोक्ता समितिलाई भुक्तानी गरिएको थियो ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख बजेटबाट नगरपालिकामार्फत चिकित्सालयका लागि आवश्यक उपकरण खरिद गरिएको छ । योगा, फिजियोथेरापी, हाइड्रोथेरापी, अकुपंचर र परामर्श कक्ष निर्माण गरिएको छ । चिकित्सालय सञ्चालन नहुँदा खरिद गरिएका उपकरणहरू थन्किएका छन् ।
प्रशासन र नगरपालिकासँग चिकित्सालय सञ्चालन सहमतिको लागि प्रक्रिया थालेको समितीले बजेट व्यवस्थापनको लागि स्थानीयदेखि संघ सरकारसंग पहल थालेको छ । प्राकृतिक उपचारलाई व्यवस्थित बनाउन चिकित्सालय निर्माण गरिएको हो ।