बागलुङ, २४ पुस– बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाको २१ औं साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अहिलेसम्म सहकारीको छवि राम्रो भएको बताए ।
खड्काले व्यवसायिक क्षेत्रमा गरेको लगानीबाट सहकारी धन्यवादका पात्र भएको भन्दै नगरपालिकाले बनाएको नीतिमा बसेर काम गर्न पनि आग्रह गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य कृष्ण शंकर श्रेष्ठले सहकारीलाई नियमन गर्ने आधिकारिक निकाय नभएर सास्ती भएको बताए । पहिला सहकारी बोर्डदेखि बिभाग र डिभिजनले अनुगमन गर्ने सहकारी स्थानीय तहमा आएर पनि चासो कम भएको टिप्पणी गरे । उनले एकडेढ बर्षदेखि सहकारी माथी प्रश्न उठ्न थालेको भन्दै समस्या नआउने गरी काम गर्न सुझाएका थिए ।
बागलुङ सहकारी संस्थाका अध्यक्ष अशोक गोबिन्द राजभण्डारीको अध्यक्षता, सचिव हरिप्रसाद गौतमको संचालन र सहसचिव उशा पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा जेष्ठ सदस्य कृष्णबहादुर श्रेष्ठ, देवबहादुर श्रेष्ठ, सीता शर्मा, श्याम श्रेष्ठ, बेदप्रसाद शर्मा लगायतले बोलेका थिए ।
सहकारीले केही समयदेखि सुपथ मूल्य पसल पनि संचालनमा ल्याएको छ । पसलमा १२ लाखको सामान मौज्दात रहेको र गत असार सम्ममा ७२ लाखको सामान खरिद गरी ६७ लाखको बिक्री गरिसकेको र १७ लाखको सामान मौज्दात रहेको समेत बताइएको छ । पसलबाट ९ लाख ६० हजारसहित संस्थाले १ करोड ७० लाख नाफा कमाएको बताइएको छ । संस्थामा ८ सय २० शेयर सदस्य छन् । संस्थाले उत्कृष्ठ कारोवारी, बचतकर्ता र ऋणीलाई सम्मान गरेको थियो ।