म्याग्दी, २९ पुस– माघे सक्रान्ति पर्वको अवसरमा पारेर सदरमुकाम बेनी बजारमा सातौं म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सुरु भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि शुरु भएको महोत्सव १० दिनसम्म चल्ने छ ।
स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्राउने र व्यापारिक ज्ञान सीप, पुँजी र प्रविधि भित्राउने उद्देश्यले महोत्सवको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव अमित बानियाँले बताए ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सिर्जना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रका बारेमा जागृत गर्ने, प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवको अवसरमा पालिकास्तरीय महिला÷पुरुष भलिबल, लोकदोहोरी, चेम्बर लोकतारा, पुरुष बाँस्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।
स्थानीय उत्पादन र राष्ट्रिय आन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारबाट गीत तथा नृत्य प्रस्तुति, बालउद्यान, मिनी चिडियाघर आकर्षणका रूपमा रहने तथा हेलिकोप्टरबाट पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।
कालीगण्डकीमा ¥याफ्टिङ र बेनीदेखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहने भएका छन् । महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।