म्याग्दी, १३ माघ– अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ ।
आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले आगामी चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको भन्दै हाल बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको परीक्षण गर्ने तयारी भएको बताए । उनका अनुसार तीन हजार पाँच मिटर लामो सुरुङ पलास्टरको काम पनि अन्तिम चरणमा छ ।
अन्नपूर्ण गाउँपालिका वडा नं. ५ शिख र ६ घारको सिमानामा पर्ने कुरिला बगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी बनाइएको छ । डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ ।
बाँध, डिसेन्डर र एप्रोच क्यानलको पहिलो चरणको परीक्षण सफल भएको छ । विद्युतगृहमा टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकलका उपकरण जडान भइरहेको छ । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रो मेकानिकल ठेकेदार सिई हाइड्रो मेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका हुन् ।
सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले ९८ प्रतिशत भौतिक संरचना निर्माण सकेको बताएको छ । पोखरेबगरदेखि दुई सय २० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्न थालिएको छ ।