म्याग्दी, १९ माघ– जिल्लाको अन्नपूर्ण गाउँपालिकाको १६ औं गाउँसभामा थप दुई करोड बजेट प्रस्ताव गरिएको छ ।
पोखरेबगरमा भएको सभामा चालु आर्थिक वर्षका लागि थप दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको हो ।
चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक वर्ष २०७७÷७८ को अन्तिम लेखा परिक्षण प्रतिवेदन छलफलका लागि प्रस्तुत र लेखा समिति गठनको प्रक्रीया शुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले गाउँसभा सदस्यहरुलाई प्रस्तुत बजेट, बिधेयक, योजना र प्रस्तावको अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराएर माघ २१ गते ११ बजेसम्मका लागि सभा स्थगित गरिएको जानकारी दिए ।
गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले गत असारमा पारित भएका योजनामा थप भएको सहित ४९ वटा योजनाका लागि दुई करोड रपैयाँ अल्या बजेट बिनियोजन गरेको प्रस्ताव गरेकी थिइन् ।
सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले आर्थिक वर्ष २०७७÷७८ को अन्तिम लेखा परिक्षण प्रतिवेदन अनुसार पाँच करोड ६७ लाख ७८ हजार बेरुजु रहेको र लेखा समिति नहुँदा बेरुजु सम्परिक्षण गर्न समस्या भएको जानकारी गराएका थिए ।