काठमाडौं, २२ माघ– राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः१५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो । राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भने सत्तारुढ दलले पनि उम्मेदवार सार्वजनिक गरेको छैन ।
यसैबीच राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि बिपक्षी दलहरुको बैठक आज पनि बस्ने भएको छ । शनिवार सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन ।