काठमाडौं, २३ माघ– चालु आर्थिक वर्षको छ महिनामा कूल ५ खर्ब ८५ अर्ब आठ करोड बराबरकोे विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको अवधिममा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ पुगेको छ ।
वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई एक लाख ४२ हजार पाँच सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ९८ दशमलव एक प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई ६ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।