काठमाडौं, २४ माघ– नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । मध्यराती १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल÷मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल÷मटितेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।
निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेबु्रअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ । ‘इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ’ निगमले विज्ञप्तिमा भनेको छ ।
१६ माघमा प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८.१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ, मटितेलमा ४.६१ रुपैयाँ र हवाई इन्धनमा ७.८ रुपैयाँ मुल्य बढेर आएकाले मूल्यवृद्धि गर्नुपरेको निगमको स्पष्टीकरण छ ।