काठमाडौं, २८ माघ– नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।
संघले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति संघले गम्भीर ध्यानकर्षण भएको बताए ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ती आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न सङ्घको कार्यकारिणी समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।