बागलुङ, ६ फागुन– पटक पटकको प्रयासबाट हात्तिपाइले रोग निवारण गर्न नसक्दा बढेको चुनौती चिर्न बागलुङमा १४ औं पटक औषधी खुवाउने अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालयले बागलुङमा क्रियाशिल पत्रकार तथा शिक्षा क्षेत्रका अगुवालाई औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्मा, जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा र बागलुङ नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालको प्रत्यक्ष निगरानीमा पत्रकारले औषधी खाएका हुन् । फागुन १० गतेदेखि यो अभियान आम औषधि सेवनको रुपमा अगाडि बढ्ने बताइएको छ । पहिलो दिन बिद्यालय तहमा र फागुन ११ गतेदेखि टोल टोलमा हात्तिपाइले रोगबिरुद्ध औषधि खुवाइने भएको हो ।
प्रिटाक्स सर्भेमा बागलुङ यो पटक पास भएकोले अन्तिम पटक खुवाएर पूर्ण रुपमा निवारण गर्ने लक्ष बनाइएको शर्माले जानकारी दिइन् । बागलुङ जिल्लामा कुल २ लाख ५६ हजार ४४ जनालाइ हात्तिपाइले बिरुद्धको औषधि खुवाउने तयारी छ । त्यसका लागि ५ सय बढी स्वास्थ्यकर्मी र वडा तहमा जनप्रतिनिधि खटिने छन् ।
यो पटक उच्च पदस्थहरुलाई हात्तिपाइले रोग बिरुद्धको औषधि खाएपछि तस्बिर र सन्देश सामाजिक संजालमा राख्न पनि भनिएको छ । ‘यसअघि औषधि सबैले खानुपर्छ भनेर अनिवार्य नगर्दा छुटेकोले निवरणमा पनि समस्या आयो’ शर्माले भनिन्, ‘सिकिस्त भएर अस्पतालमा भर्ना भएका र दुइबर्ष मुनिकाबाहेक सबैलाई यो औषधि खुवाउने लक्ष छ ।’ यो लक्ष पुरा भएमा बागलुङमा हात्तिपाइले रोग निवारण हुनेछ ।
बागलुङको नारायणस्थानमा बढी संक्रमण देखिएको र बजारी क्षेत्रमा पनि छिटफुट देखिंदा औषधि खुवाउनु परेको स्वास्थ्यकर्मीले बताए । त्यसका लागि सरोकारवालाको बैठक, औषधि खुवाउने तयारी, सचेतना अभियान संचालन भैरहेका छन् । बागलुङ नगरभित्र पनि ५९ हजार १ सय ३३ जनालाई औषधि खुवाइने छ ।