पर्वत, १० फागुन– लामो समयदेखि वर्षा नहुँदा पर्वतमा आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे बालीको उत्पादन घटेको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् ।
उनका अनुसार बालीनाली उम्रिसकेपछि समयमै सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ । यसवर्ष हिउँदे खेतीका रुपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्ने किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको थापाले बताइन् । तेलहन बालीमा मात्र ३० प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आउने उनको अनुमान छ ।
त्यसैगरी लहरेबालीसमेत समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी कृषकहरु मारमा परेका छन् । पर्वतमा झन्डै आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भएपनि खोला सुकेका कारण सिँचाइ नहरमा पानी बन्द हुँदा समस्या भएको थापाको भनाई थियो ।
साना मूलको भरमा खेतीपाती गर्दै आएका कृषकलाई खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शंकरपोखरीका कृषक कुलप्रसाद तिवारीले गुनासो गरे । ‘मकै, चैतेधान, बर्खे आलु रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्या भएको छ’ तिवारीले भने ।
फागुन महिनाभरिमा वर्षा नहुने हो भने मकै खेती र लहरेबालीसमेत उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । खडेरीले यसवर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्रका प्रमुख थापाको अनुमान छ ।