काठमाडौं, १२ फागुन– राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने बालुवाटारमा जारी आठ दलको बैठकले निर्णय भएको छ । ‘आज राष्ट्रपतिको मात्र कुरा भयो । कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौं’ बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले भने ।
राष्ट्रपतिमा आफूहरूको पनि दाबी भएता पनि संसदको ठूलो दल कांग्रेसलाई समर्थन गरेको उनले बताए । ज्वालाका अनुसार, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको चाहनाअनुसार अघि बढ्नु पर्ने बताउँदै नयाँ राजनीतिक यात्रा सुरू भएको बताएका थिए ।
राष्ट्रपति उम्मेदवार को भन्नेबारे कांग्रेस आफैंले छलफल गर्ने उनले बताए । उम्मेदवार तय गर्नका लागि भोलि बिहान कांग्रेस बैठक बस्दैछ । बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो ।
शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ ।