बागलुङ, १३ फागुन– एक मेडिकल सुपरीटेन्डेन्टसहित १६ विशेषज्ञ र ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल निमित्त मेडिकल सुपरीटेन्डेण्ड डा. अमित ढुंगाना र डा. अभिषेक वाग्ले मात्रै दरबन्दीका चिकित्सक कार्यरत छन् ।
दरबन्दीका चिकित्सक नआउँदा छात्रवृत्ति र करारका चिकित्सकबाट बिरामीको उपचार भइरहेको अस्पतालमा पछिल्लो समय छात्रवृत्ति र करारका चिकित्सकसमेत आउन छाडेपछि उपचार सेवा थप प्रभावित बनेको मेडिकल सुपरीटेन्डेन्ट डा. अमित ढुंगानाले बताए ।
चिकित्सक नहुँदा अस्पतालमा प्रसूति सेवा प्रभावित बनेको छ । गर्भवतीको जटिल समस्या र शल्यक्रियाका लागि पोखरा सिफारिस गर्नुपर्ने अवस्था छ । चिकित्सकको अभावमा बालरोग, नाक, कान तथा घाँटी र छाला रोग विभागका सेवा प्रभावित बनेका छन् ।
चिकित्सक नहुँदा ओपिडीदेखि इमर्जेन्सी र आइसीयूका सेवामा प्रभाव पारेको डा. ढुंगानाले बताए । ‘गण्डकी प्रदेश सरकारले करारका दुई मेडिकल अधिकृत पठाएको छ, तत्काल स्त्रीरोग र बालरोग विशेषज्ञसहित चिकित्सकको खाँचो छ’ ढुंगानाले भने ।
तत्काल चार विशेषज्ञ र चार मेडिकल अधिकृत नभएसम्म अस्पतालका सबै विभाग सञ्चालन गर्न कठिन डा. ढुंगानाको भनाई छ । छात्रवृत्तितर्फका ११ विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालमा हाल पाँच जनामात्रै विशेषज्ञ छन् ।
ओपिडीमा मात्रै दैनिक चार सय बिरामी आउने अस्पतालमा दरबन्दीका चिकित्सकले मात्र धान्न नसकिने अस्पतालका प्रशासकिय अधिकृत तेजप्रसाद निउरेले बताए । ‘भौतिक पूर्वाधार बन्यो, तर दरबन्दीका चिकित्सक ल्याउन सकिएन’ न्युरेले भने ।