पर्वत, २५ फागुन– राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा ३ वर्षदेखि फलेवास नगरपालिका वडा नं. ६ देवीस्थानका स्थानीयले अवरोध गरेपछि काम ठप्प थियो । विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गरेका थिए ।
स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार टावर निर्माण हुन सकेका छैनन् । लामो समयसम्म काम अघि बढ्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले पहल थालेको हो ।
कालीगण्डकी र यसका सहायक खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रशारण लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन कार्यकारी निर्देशक कुलमान घिसिङले अनुरोध गरेका छन् ।
प्रसारण लाइनको टावर सार्न सम्भव भए÷नभएको विषयमा प्राविधिक टोलीले चार÷पाँच दिनभित्र सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको छ । विद्यालयलाई जोगाएर प्राविधिक रुपमा सम्भव भएसम्म रंगशालालाई कम असर पर्नेगरी टावर निर्माण गरिने घिसिङको भनाई छ ।
कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।