बागलुङ, २७ फागुन– जिल्लामा क्रियाशिल सहकारी संघहरु सहकारीमा देखिएका समस्या समाधान गर्न मिलेर अघि बढ्न तयार भएका छन् । बागलुङमा एक÷दुई वटा सहकारीबाहेक अन्यको अबस्था चुस्त रहेको भन्दै समस्याग्रस्त सहकारीको सुधारका लागि संघहरुले साझा कार्यक्रम बनाउने भएका हुन् ।
बागलुङ नगरपालिकाको सहकारी शाखाले सहकारीका समस्याका बिषयमा आयोजना गरेको छलफलमा संघका अध्यक्ष तथा पदाधिकारीहरुले देशभरी हल्ला चलेको जस्तो सहकारीको अबस्था समस्याग्रस्त नरहेको बताए । ‘देशका अन्य जिल्लाको तुलनामा बागलुङका सहकारी सुरक्षित छन्, शेयर सदस्य आत्तिनै पर्दैन्’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले भने ‘केही सञ्चालकहरुको बद्मासीका कारण समस्यामा परेका छन् तर समाधान नै नहुने समस्या छैनन् ।’
जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नरबहादुर थापाले सहकारीहरुले आफ्ना समस्या समाधानका लागि साझा कार्यक्रम बनाउनुपर्ने बताए । एक अर्कालाई बिग्रेको हेर्नभन्दा साझा कार्यक्रमका साथ शेयर सदस्यको बीचमा जाँदा सहकारीप्रतिको विश्वास थप बढ्ने उनको भनाई थियो । सहकारीको नियमन र अनुगमन गर्ने काम नगरपालिकाको भएको भन्दै थापाले अहिले देशभरी देखिएको समस्याको समाधानका लागि नगरपालिकाले बाटो खोज्नुपर्ने बताए ।
साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजप्रसाद शर्माले सहकारीबाट ऋण लिएका ऋणीहरुले सञ्चालक तथा सहकारीका कर्मचारीहरुलाई अभद्र व्यवहार गर्न थालेकोमा चिन्ता व्यक्त गरे । ‘हामीसँग तरलता पर्याप्त छ, कहिँकतै समस्या छैन् तर, ऋणीहरुले समयमा भुक्तानी माग्दा ‘घरै आईजा जे गर्छस् गर भन्न थाले’ शर्माले भने ‘एक जना शेयर सदस्यको पैसा अर्को शेयर सदस्यका लागि काममा लागेको छ भन्ने शेयर सदस्यहरु बुझ्न जरुरी छ ।’ उनले इमान्दार सञ्चालक र बिधिमा चलेका कुनैपनि सहकारी समस्यामा नपरेको बताए ।
जिल्ला सहकारी संघ बागलुङकी अध्यक्ष हुमाकुमारी जिसीले बागलुङ नगरपालिकामा रहेका अधिकांश सहकारीको तरलताको अबस्था सन्तोषजनक रहेको बताईन् । बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डिप्रसाद शर्माले जिल्ला बाहिरको हावाले छुँदा शाखा सञ्चालन गरेका केही सहकारीमा समस्या भएको भएपनि यहाँका अधिकांश सहकारी सुरक्षित रहेको बताए । सहकारी शिक्षाको अभाव, कोठे साधारणसभा र सहकारीका काम, कर्तव्य र अधिकारको बिषयमा शेयर सदस्यलाई बुझाउन नसक्दा समस्या पैदा भैरहेको उनको धारणा थियो ।
छलफलमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सहकारीहरुले क्षमताभन्दा बढी लगानी गर्ने गरेकाले बिनियमले तोकेअनुसार काम गर्न सुझाए । सहकारीमा समस्या समाधान गर्न नगरपालिका तयार रहेको भन्दै खड्काले उपयुक्त कार्यक्रम बनाएर शेयर सदस्यको बचत तथा लगानी सुक्षित गर्ने, व्यवस्थापन चुस्त बनाउने र कर्जा लिनेहरुलाई उद्यममा जोड्ने काममा लाग्नुपर्ने बताए ।