बागलुङ, ६ चैत्र– स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको बिषयमा नागरिकमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ ।
कार्यालयका काम कारबाहीलाई खुला, पारदर्शी र प्रभावकारी बनाउन बुलेटिन प्रकाशन सुरु गरिएको कार्यालय प्रमुख प्रविण शर्माले बताए । ‘ई–बुलेटिन भएकाले कार्यालयको फेसबुक पेज र बेवसाईटमार्फत सबैको बीचमा पु¥याएका छौं’ शर्माले भने ।
बुलेटिनमा हरेक महिना स्वास्थ्य कार्यालयका गतिविधि तथा स्थानीय तहले संचालन गरेका स्वास्थ्यका मुख्य कार्यक्रमबारे जानकारी समावेश गरिने शर्माले बताए ।
‘कार्यालयले गर्ने काम र आगामी योजनाबारे जानकारी समावेश हुँदा बुझ्न र सेवा लिन सहज हुन्छ’ शर्माले भने, ‘स्थानीय तहले कार्ययोजना बनाउँदा बुलेटिन सहयोग गर्छ ।’ स्वास्थ्यका हरेक जानकारी बुलेटिनमा समावेश हुने भएकाले सबैका लागि बुलेटिन प्रभावकारी बन्ने स्वास्थ्य कार्यालयको अपेक्षा छ ।