म्याग्दी, १३ चैत्र– जिल्लाको मंगला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत भाले उपहार दिन थालेको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको जानकारी दिए ।
‘गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौँ’, रोकाले भने, ‘घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भपरीक्षण नगराउने समस्या हटाउन सन्देशमूलक अभियान सञ्चालन गरेको हो ।’
तोकिएको मितिमा आठपटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेकपटक एक–एक क्रेट अन्डा र संस्थागत प्रसूति हुनेलाई एक कुखुराको भाले दिने गरिएको हो । संस्थागत सुत्केरी हुनेलाई संघीय सरकारले यातायात खर्चवापत दुई हजार र गर्भपरीक्षण गर्नेलाई थप आठ सय उपलब्ध गराउँदै आएको छ ।
मंगलाका कुहुँ, अर्मन र बरङ्जा स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध छ । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज हुने स्वास्थ्यकर्मीले बताएका छन् ।
चालु आर्थिक वर्षमा संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन भएको छ । गर्भवती, सुत्केरी र बच्चाको स्वास्थ्य, पोषण, आहार र सरसफाइमा जागरण ल्याउन कार्यक्रमले सहयोग पुगेको छ ।