मुस्ताङ, २१ चैत्र– जिल्लामा स्याउ संकलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि १ करोड ४१ लाख लागतमा संकलन तथा चिस्यान केन्द्र बन्न लागेको हो ।
घरपझोङ गाउँपालिका–२ मा चिस्यान केन्द्रको निर्माण तत्काल सुरु गरिने फलफूल तथा स्याउ ग्रेडिङ मेसीन उपभोक्ता समितिका सचिव सकबहादुर लालचनले जानकारी दिए ।
लालचनका अनुसार आर्थिक वर्ष ०७९÷८० को लागि केन्द्रका लागि गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट एक करोड ४१ लाख बिनियोजन गरिएको छ । सरकारको ८५ र कृषकको १५ प्रतिशत अनुदानमा यसको निर्माण हुनेछ ।
चिस्यान केन्द्र बनेसँगै स्याउको पकेटक्षेत्र थासाङ गाउँपालिका वडा नं. १ टुकुचे– झोङोदेखि घरपझोङ गाउँपालिका अन्तर्गतका गाउँ मार्फा, धमाङ, सबि, चिमाङ, छैरो, तिब्बतीयन क्याम्प, शीतोष्ण बागवाणी केन्द्र, स्याङ, जोमसोम, ठिनी, ढुम्बा आदि लाभान्वित हुनेछन् ।
मुस्ताङमा ठूलो लगानीमा बन्न लागेको चिस्यान केन्द्र पहिलो हो । पछिल्लो समय जिल्लामा स्याउ भण्डारणको लागि प्रदेश सरकार र अन्य निकायबाट चिस्यान केन्द्र निर्माण भएपनि पर्याप्त मात्रामा नभएको कृषकहरुले गुनासो गर्दै आएका छन् ।
ठूलो क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएसँगै मुस्ताङका कृषक उत्साहित बनेका छन् । चिस्यान केन्द्रमा भण्डारण गरी बेमौसममा पनि बिक्री वितरण गरी राम्रो मूल्य आर्जन गर्न सकिने भएकाले यो अत्यन्तै लाभदायक बन्ने कृषक सिंहरमज लामाले बताए ।