बागलुङ, २६ चैत्र– नागरिकको पहुँचमा पुग्नेगरी बागलुङ नगरपालिका वडा नं. रामरेखास्थित शहिद स्मृति पार्कमा खुला व्यायामशाला स्थापना गरिएको छ ।
बागलुङ नगरपालिकाको पहल तथा आयुर्वेद विभागको समन्वयमा खुला व्यायमशाला स्थापना गरिएको हो । सहिद स्कृतिपार्क तथा लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका नागरिकलाई लक्षित खुला व्यायामशाला निर्माण गरिएको हो ।
धौलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा. सरोजकुमार रायका अनुसार, विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग तथा आयुर्वेद विभागको समन्वयमा खुल्ला व्यायामशाला निर्माण गरिएको हो । व्यायामशाला १५ प्रकारका सामग्री राखिएको छ ।
‘शारीरिक अभ्यास, योग तथा खानपानमा सहर बजारका नागरिक सचेत रहन आवश्यक छ’ डा. रायले भने, ‘खुला व्यायामशाला नागरिकको पहुँचमा पुग्ने भरपर्दो शारीरिक अभ्यासको माध्यम भएकाले संरचना निर्माण गरिएको हो ।’
पार्कमा खुला व्यायामशाला निर्माण गरेको एकसाता पनि नपुग्दै सामग्रीहरु बिग्रिएका छन् । ‘व्यायामशाला नागरिकको स्वास्थ्यको लागि राम्रो भएपनि यसको संरक्षण गर्न जरुरी छ’ रामरेखाबासी कृष्णराज शर्माले भने, ‘व्यायामशालाको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्छ ।’