म्याग्दी, २८ चैत्र– जिल्लाका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् ।
विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले ७ हजार भुरा कृषकलाई वितरण गरेका छन् । ४५ कृषकलाई केन्द्रका प्रमुख जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गरेका थिए ।
मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगंगाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिए । भुरा नवलपरासीबाट खरिद गरिएको हो ।
व्यावसायिक उत्पादनमा जोड दिन कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन । जिल्लामा व्यावसायिकरुपमा माछापालन गर्ने कृषक ५० भन्दा बढी रहेको बताइएको छ ।