बागलुङ, ४ बैशाख– वैदेशिक रोजगारीमा लामो समय बिताएका बागलुङको जैमिनीका एक युवाले भैसीपालन व्यवसाय गरेका छन् । जैमिनी नगरपालिका–२ का गोबिन्द हमालले वडा नं. १ को कुश्मीसेरामा भैसीपालन व्यवसाय गरेका हुन् ।
कुश्मीसेरा बजारमै दैनिक १ सय ५ लिटर दूध बेच्दै आएका हमाल दम्पत्तिले कृषि पेशालाई नै निरन्तरता दिने योजनासमेत बनाएका छन् । तर, आर्थिक मन्दी र बैंकको व्याजदर बढ्दा भने उहाँहरुको पेशामा समस्या थपिएको छ ।
१९ वटा मुर्रा भैंसी पालेका हमालले दूधको मात्रा बढाउने र ऋणको व्याजदर घटाउन सकेमा व्यवसायलाई निरन्तरता दिने बताए । बैंकहरुले व्याजदरमा दोब्बर वृद्धि गरेपछि भने उहाँलाई व्यवसाय अगाडि बढाउन समस्या भएको छ ।
‘ऋणधन गरेर भैसीपालन थालेको छोटो समयमा कोरोना संक्रमण र आर्थिक मन्दीको मार प¥यो’ हमालले भने, ‘सस्तो दरमा लिएको बैंकको ऋण बढेर १८ प्रतिशतमा पुगेपछि ऋणबाट व्यवसाय चलाएका किसान मारमा परेका छन् ।’
बैदेशिक रोजगारीमा १४ बर्ष दुबई बसेका हमालले चार बर्षअघि मात्रै गाउँ फर्केर भैसीपालन थालेका थिए । व्याजदर बढ्दा महिनाभर गरेको दुःखले ऋण तिर्न नसकेपछि खाने र परिवार पाल्ने चिन्ताले हमालाई सताउन थालेको छ ।
भाडाको जग्गा व्यवसाय संचालन गरेका हमालले नगरपालिका, भेटेनरी अस्पताल तथा बिज्ञ केन्द्रमा आफ्नो समस्या राखेपनि सुनुवाई नभएको गुनासो गरे । केही अनुदान, नसके सस्तो कृषि ऋण पाएमा पेशा छाड्न नपर्ने उनको भनाई छ ।
पोखराको डेरी उद्योगले दूध उत्पादन बढेमा खरिद गरिदिने आश्वासन दिएपनि हमाल जस्तै जैमिनीका व्यवसायिक किसानले भैसीपालनबाट उत्पादन बढाउने, ऋणको बोझ र व्याजदर घटाउन सकेमा माग पुरा गर्न सक्ने बताएका छन् ।