बागलुङ, ४ चैत्र– काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा रहेको स्वास्थ्य चौकीमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । सदरमुकाम बागलुङ बजार नजिकै रहेको स्वास्थ्य चौकीमा एक स्वास्थ्यकर्मीले सेवा दिँदै आएका छन् ।
स्वास्थ्य चौकी प्रमुख रहनुभएका आशिष सापकोटाले माघदेखि एक्लै सेवा दिँदै आएको बताए । भीमापोखरा स्वास्थ्य चौकीमा दुई अनमी, दुई अहेब र एक हेल्थ असिस्टेन्टको दरबन्दी भएपनि हाल हेल्थ असिस्टेन्ट सापकोटाले मात्रै सेवा दिँदै आएका छन् ।
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेपनि जनशक्ति नहुँदा गर्भवती महिलालाई सदरमुकास्थित धौलागिरी अस्पतालमा धाउनुपर्ने बाध्यता छ । स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट र एक कार्यालय सहयोगी मात्रै कार्यरत हुँदा उपचार सेवा प्रभावित बनेको छ ।
‘गर्मी बढेसंगै दिनहुँ बिरामी थपिने क्रम बढ्दो छ, स्वास्थ्य संस्था जनशक्ति छैन’ सपाकोटाले भने, ‘दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा कहिलेकाहीँ एउटै बिरामीको उपचार दुई/तीन जनाले गर्नुपर्ने अवस्थामा समस्या हुने गरेको छ ।’
काठेखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामाले तत्काल नयाँ स्वास्थ्यकर्मी नियुक्त गर्ने अवस्था नभएको बताए । असार मसान्तसम्म अन्य स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी लिएर समस्या समाधान गर्न पहल गरिने लामाको भनाई छ ।