बागलुङ, ५ बैशाख– धौलागिरि अस्पताललाई रिफर सेन्टरबाट उपचार केन्द्र बनाउन सबैको चासो र प्रयास हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
अस्पतालले थालेका सेवा सुविधा र जनशक्तीबारे सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले स्वास्थ्य क्षेत्रको साख जोगाउँदा जिल्लाकै सान बढ्ने बताए । उनीहरुले अस्पतालमा आएका बिरामीको उपचारपछि घर फर्कने वातावरण बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले गाउँमा अनुगमनमा पुग्दा धेरै जनाले अस्पतालमा सेवा नपाएको गुनासो गरेको बताए । ‘सेवा नपाएको गुनासो धेरै आउने गरेको थियो, अहिले केही सुधार भएको पाइयो’ थापाले भने ।
यसअघि छात्रवृत्ति कोटाका डाक्टर आउँदै फर्कदै गर्ने पद्दतीले आम नागरिकले उपचारमा सास्ती खेप्नुपरेको थियो । चैतको तेस्रो सातादेखि भने अस्पतालमा अधिकांस बिज्ञ डाक्टर थपिएका छन् । अस्पतालमा अहिले १५ जना बिज्ञ डाक्टर, ८ जना मेडिकल अधिकृत र ४५ जना स्टाफ नर्स कार्यरत रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. रबिरञ्जन प्रधानले बताए ।
सोमबारको बैठकमा प्रधानले अस्पतालको वर्तमान अबस्था, कार्यरत दरबन्दी, सेवाको प्रकार र अस्पतालको आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गरेका थिए । उनले आगामी असार मसान्तभित्रै सिटि स्क्यान जडान गरेर टाउको तथा चोटपटकका बिरामीको उपचार सेवा सहज बनाइन जानकारी दिए ।
उनका अनुसार अस्पतालमा अहिले हरेक बिभागमा बिशेषज्ञ डाक्टरको सहभागिता पुगेको छ । केही अझै आउने क्रममा रहेकोले अस्पतालले पूर्ण रुपमा काम गर्न सक्ने बनाउन लागेको जानकारी गराए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलले पनि हिजोका समस्याबाट पाठ सिकेर धेरै सुधारको प्रयास गरेको बताए ।
गण्डकी प्रदेश सरकारले दिएको १० करोड रुपैयाँ, बागलुङ नगरपालिकाको २० लाख लगायतको सहयोज जुटाएर सिटि स्क्यान मेसिन खरिद, व्यवस्थापकीय सुधार र हरि खड्का ट्रमा सेन्टर जस्ता उपचार सेवा पनि संचालन गर्ने तयारी छ ।
अस्पतालमा पछिल्लो समय सडक दुर्घटना लगायतका कारणले टाउकोको घाउ तथा समस्या भएका बिरामी धेरै आउने गरेका छन् । उनीहरुको उपचारका लागि सिटि स्क्यान र ट्रमा उपचार कक्ष आबस्या पर्ने गरेको हो ।
नेपाल सरकारले पनि स्वर्गिय हरि खड्काको स्मृतिमा ट्रमा सेन्टर बनाउने नीतिगत निर्णय गरेको थियो । उक्त निर्णय पछि गण्डकी प्रदेश सरकारले सिटिस्क्यान खरिदका लागि बजेट बिनियोजन गरेको हो भने अस्पतालले सेन्टरका लागि सी ब्लकलाई व्यवस्थापन गरिरहेको हो । उक्त भवनको पूर्ण व्यवस्थापन भैसकेपछि अस्पतालमा थप दुइवटा भवन बनाएर प्रदेश स्तरीय सेवा दिने अस्पतालको लक्ष्य छ ।