बागलुङ, ८ बैशाख– सहकारीमा तरलता अभाव देखाउँदै कारोवार रोक्का गरेको इमेज बचत तथा ऋण सहकारी बागलुङले बचत सुरक्षित रहेकाले बचतकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेको छ । बचतकर्ताको पैसा लगानीमा रहेकाले आत्तिनुपर्ने अबस्था नरहेको सहकारीले जनाएको छ ।
५० प्रतिशत तरलता राख्दा समेत दैनिक कारोवार धान्न गाह्रो भएकाले समस्या आएको भन्दै सहकारीले बचतकर्ताको कुनैपनि रकम हिनामिना नहुने प्रष्ट पारेको हो । सहकारीका कार्यवाहक अध्यक्षले सूचना जारी गरी कारोवार रोकेपछि बचतकर्ताले कार्यालय घेरेका थिए । सहकारीका कार्यबहाक अध्यक्ष डोरबहादुर परियारले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै बचतकर्तालाई निराश नहुन आग्रह गरेका छन् ।
यस्तै, सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलले बचतकर्ताको पैसा जसरी पनि फिर्ता गर्ने भन्दै ढुक्क रहन अनुरोध गरेका छन् ।
सहकारीले यो साता मात्रै सात करोड रुपैयाँ एकैपटक सहकारीबाट बचत फिर्ता भएकाले तरलता अभाव भएको स्वीकार गर्दै आएको छ । सहकारीले सदस्यको बचत सदस्यमै लगानी भएकाले बचतकर्तालाई ढुक्क हुन आग्रह गरेको छ ।
प्रतिवद्धता जारी गर्दै शेयर सदस्य वचतकर्ताहरुको रकम फिर्ता गरिने भएकाले ढुक्क हुन अनुरोध गरिएको छ । संस्थाको चल–अचल सम्पत्ती तथा व्यक्तिगत सम्पत्ती समेत विक्री वितरण गरेर भएपनि वचत फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दै त्यसको लागि वातावरण बनाई दिन आव्हान गरिएको छ ।

