बागलुङ, १२ बैशाख– धौलागिरि अस्पतालले ३ वर्षअघि निर्माण गरेको सुत्केरी घर प्रयोगविहिन बनेको छ । ४ जनासम्म गर्भवती÷सुत्केरी बस्न मिल्ने ‘सुत्केरी प्रतीक्षा घर’मा तातो÷चिसो पानी, एसीका साथै, भान्साकोठा र शौचालयको व्यवस्था छ ।
‘सुत्केरी घर’बारे जानकारी नहुँदा ग्रामिण क्षेत्रबाट आउने महिला कोही महिला होटल त कोही कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यता छ । एक महिनासम्म सदरमुकाममा कोठा भाडामा लिएर सुत्केरी हुने समय कुर्दा मात्रै ‘सुत्केरी घर’बारे जानकारी पाएको बडिगाड गाउँपालिका वडा नं. ८ की कल्पना श्रीसले बताइन् ।
‘सुत्केरी घर’बारे जानकारी नहुँदा प्रयोगविहिन बनेको अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. अमित ढुंगानाले बताए । डा. ढुंगानाका अनुसार, ‘सुत्केरी घर’मा आवश्यक पर्नेले बस्ने र सुत्केरीपछि आउने समस्याका बेलामा पनि बस्न पाउने छन् ।
यो भवनबाट अहिलेसम्म चार जनाले मात्रै सेवा लिएका छन् । अस्पतालका कर्मचारीको आवास भवनलाई ३ वर्षअघि १० लाख खर्चेर मर्मत गरेपछि सुत्केरी प्रतीक्षा घर बनाइएको थियो । अहिले पनि सुत्केरी घरमा बस्नेका लागि वार्षिक ३ लाख बजेट छ ।
अस्पतालले सूचना जारी गरेर प्रयोगविहिन प्रतीक्षा घरलाई सञ्चालनमा ल्याउने तयारी थालेको छ । निशुल्क बस्न पाइने सुत्केरी घरबाट समयमा उपचार पाउने र जटिल समस्या देखिए गर्भ परीक्षण गरेर समयमा अस्पतालमा रेफर गर्ने व्यवस्था रहेको छ ।