बागलुङ, १३ बैशाख– भौगोलिक हिसाबले दुर्गम गाउँ रमुवामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानी रहेको रमुवा शहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याईएको हो ।
बर्थिङ सेन्टरको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मंगलबार उद्घाटन गरे । हटिया बजारदेखि चार घण्टाको सवारी यात्रापछि पुगिने रमुवामा गर्भवती महिलाको समस्यालाई मध्यनजर गरी नगरपालिकाले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो । यसअघि यहाँका गर्भवती महिला दुई घण्टा पैदल यात्रा गरी पाण्डवखानी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा पुग्ने गरेका थिए ।
पाण्डवखानी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका महिला चार घण्टा लगाएर हटिया बजार र त्यहाँ पनि नभए पोखरा पुग्नुपर्ने बाध्यता थियो । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुत्केरी हुनकै लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।