बागलुङ, २६ बैशाख– नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले बिश्व रेडक्रस दिवस रक्तदानसहित विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
रेडक्रसले आयोजना गरेको रक्तदान कार्यक्रममा सामाजिक संस्था, पत्रकार र बिद्यार्थी लगायतका १७ जनाले रक्तदान गरेका छन् । रेडक्रसका सभापति जगन्नाथ आचार्यले बागलुङमा रगतको कमी हुन नदिनका लागि जिल्लामा सप्ताहब्यापी रूपमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
रेडक्रसले बागलुङमा रगतको अभाव हुन नदिन २०५३ सालदेखि रक्तसञ्चार केन्द्र स्थापना गरेर मानवीय काम गर्दै आएको छ । कार्यक्रममा रेडक्रसका निर्वतमान सभापति जब्बरबहादुर लामिछाने, रक्त सञ्चार केन्द्रका गुरुदत्त शर्मा, लियो क्लबका सदस्य रूपा नेपाली लगायतले बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यको अध्यक्षता र जिवननाथ शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच, स्थापना दिवसको अवसरमा रेडक्रसले युवा रेडक्रस सर्कल गठन गर्न शुरू गरेको छ । दिवसको अवसरमा बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशिय माध्यमिक बिद्यालय र युएस ऐकेडेमीमा युवा रेडक्रस सर्कल गठन गरिएको हो ।
विद्यालयमा रेडक्रसको पहुँच पुर्याइ बिद्यार्थीहरूलाई सामाजिक काम कार्यमा अघि बढाउने उदेश्यले युवा रेडक्रस सर्कल गठन गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताए ।
कार्यक्रममा रेडक्रसका उपसभापति राजेन्द्र आचार्य, जिल्ला सदस्य कृष्णप्रसाद आचार्य, पुर्णभद्र निउरे लगायतले बोलेका थिए । विद्यालयका भाइस प्रिन्सिपल सुरेन्द्र शाक्यको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष जीवननाथ शर्माको स्वागत र शिक्षक केदार शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

