बागलुङ, ३० बैशाख– शुक्रबार बिस्तार भएको गण्डकी प्रदेशको मन्त्री परिषदमा नेपाली कांग्रेस बागलुङका निर्वतमान सभापति दिपेन्द्रबहादुर थापा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।
थापा बागलुङ क्षेत्र नंं. १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत हुन् । कांग्रेस राजनीतिमा जिल्ला सदस्यदेखि सचिवहुँदै सभापतिसम्म पुगेका थापा सालिन स्वभावका मानिन्छन् । बानपा ११ घर भएका थापाले महाबिद्याजन माबि रायडाँडामा पढाउँथे । २०३६ सालमा शिक्षकबाट राजिनामा दिएर राजनीतिमा होमिएका थापा निरन्तर राजनीतिमै छन् ।
सत्याग्रहदेखि नेपालको राजनीतिका सबै आन्दोलनमा थापा सहभागि भए । थापाले हारलाई सँधै जीतको रुपमा लिएको बताउने गर्छन् । पार्टीमा सचिव, सभापति र प्रदेशसभामा एक÷एक पटक पराजित भएपनि उनले ती पद जितेरै छाडे । गत २०६४ को निर्वाचनमा एमालेका इन्द्रलाल सापकोटासँग पराजित भएका थापाले २०७९ को निर्वाचनमा एमालेकै हिराबहादुर केसीलाई पराजित गरेर गण्डकी प्रदेश सभाको यात्रा तय गरेका थिए ।
उनी कांग्रेसको महाधिवेसन प्रतिनिधि र महासमिति सदस्यमा पटक पटक निर्वाचित भएका थिए । २०४९ मा कांग्रेसको तर्फबाट रायडाँडा गाविस अध्यक्ष भएका थापा २०५४ सालको स्थानीय तह निर्वाचनमा निर्विरोध अध्यक्ष भएका थिए । विकास निर्माणमा थापाले निरन्तर काम गर्छन् भन्ने स्थानीयले बुझेका छन् । ‘उहाँकै कारण सबैभन्दा दुर्गम भएपछि रायडाँडामा पहिला बिद्युतीकरण भएको थियो’ बानपा ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘सडक संजालबाट पनि हामी पहिला जोडिएका थियौं ।’