बागलुङ, ८ जेठ– व्यक्तिगत सम्पत्ति बेचेर भएपनि बचतकर्ताको पैसा फिर्ता गर्ने आश्वासन दिएका इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पर्कबिहिन भएपछि सहकारीका बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।
सहकारीको कारोवारका कारण आँफुलाई मानसीक तनाव भएको भन्दै प्रहरीलाई परिवारको सुरक्षा गरिदिन आग्रह गरेर नेपाली सम्पर्कविहिन भएका हुन् ।
उनी गत शुक्रबारदेखि सम्पर्कमा छैनन् । नेपालीले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आँफु मानसिक तनावका कारण उपचारका लागि जानुपर्ने भएको र परिवार असुरक्षीत रहेको भन्दै सुरक्षाका लागि आग्रह गरेका थिए ।
ढोरपाटन नगरपालिकाका मेयर समेत नेपाली फरार हुनसक्ने भन्दै उजुरी परेपछि खोजीका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताइन् ।
शुक्रबारदेखि अध्यक्ष नेपाली सम्पर्कविहिन भएपछि नेपालीबारे खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले बताए ।
अध्यक्ष नेपाली सम्पर्कबिहिन भएको खबर पाएपछि सहकारीका बचतकर्ताले इमेज बचत तथा ऋण सहकारीको बागलुङ कार्यालय घेराउ गरेका थिए ।