बागलुङ, १२ जेठ– ताराखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को १० महिना बितिसक्दा कुल बजेटको ६० दशमलब ३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । यो पूँजीगत खर्च शिर्षकको खर्च हो ।
कुल बजेट ४१ करोड ४० लाख १७ हजार १ सय ५५ मध्ये २४ करोड ९६ लाख ८७ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको हो ।
गाउँपालिका अध्यक्ष धनबहादुर विकले चालु आर्थिक वर्षको १० महिनामा चालु शिर्षकतर्फ (सशर्त अनुदान चालुसहित) ६९ दशमलब ३९ प्रतिशत र पुँजिगततर्फ ५१ दशमलब २६ प्रतिशत खर्च भएको बताए ।
गाउँपालिकाले चालु शिर्षकतर्फ (सशर्त अनुदान चालुसहित) २२ करोड ५२ लाख ८९ हजार रहेकोमा १५ करोड ६३ लाख ३४ हजार ८ सय २९ रुपैयाँ मात्रै खर्च भएको र पुँजिगततर्फ १८ करोड ८७ लाख २८ हजार १ सय ५ रुपैयाँ बजेट रहेकोमा ९ करोड ३३ लाख ५२ हजार ८ सय ५४ रुपैयाँ मात्रै खर्च गरेको छ ।
ताराखोलाले सबैभन्दा धेरै वन, वातावरण तथा विपद व्यवस्थापन र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ८८ दशमलब १८ प्रतिशत बजेट खर्च गरेको छ । २ करोड १४ लाख ८ हजार ५० रुपैयाँ बजेट रहेको वन, वातावरण तथा विपद व्यवस्थापन र सुशासनमा १ करोड ८८ लाख ७६ हजार ६५४ रुपैयाँ खर्च भएको छ ।
आर्थिक विकासमा ३ करोड ९५ लाख ६० हजार रहेकोमा १ करोड २२ लाख ९२ हजार ९ सय ३ रुपैयाँ खर्च भएको छभने सामाजिक विकासतर्फ १९ करोड ८७ लाख ४ हजार ३ सय ६० विनियोजित बजेटमा १३ करोड २३ लाख ५६ हजार ८ सय ३९ रुपैयाँ खर्च गरेको गाउँपालिकाले जनाएको छ ।
यस्तै, पूर्वाधार विकासतर्फ ८ करोड १२ लाख ६२ हजार ६२२ रुपैयाँ विनियोजित बजेटमध्ये ४ करोड ३० लाख ७३ हजार ८१२ रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ६ करोड ३० लाख ८१ हजार १ सय २३ रुपैयाँ विनियोजित बजेटमध्ये ४ करोड ३० लाख ८७ हजार ४७५ रुपैयाँ खर्च भएको छ ।