बागलुङ, १३ जेठ– जिल्लामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाले हजारौं बचतकर्ताको निक्षेप अपचलन गरेर रातारात बेपत्ता भएको भन्दै पीडितहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।
गृहमन्त्री श्रेष्ठसंग भेटेर इमेज सहकारीको ठगी प्रकरणमा सहकारीका अध्यक्ष देव कुमार नेपालीलाई पक्राउ गरि कार्वाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासनले आलटाल गरी जनताको बचतमाथि खेलवाड गरेको पीडितहरुले गुनासो पोखेका थिए ।
ढोरपाटन नगरपालिकाका नगर प्रमुखसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपालीले सहकारीमा बचत गरेको रकम आर्थिक तरलता अभाव भएको भन्दै हजारौं बचतकर्ताको करोडौं रूपैयाँ हिनामिना गरेर बेपत्ता हुँदा प्रहरी प्रशासन मौन भएको भन्दै भ्रष्टाचारबिरूद्व नागरिक अभियानको टोलीले गृहमन्त्रीलाई जिल्लाको बस्तुगत अवस्थाबारे जानकारी गराईएको अभियानका संयोजक एकबहादुर केसी संगमले बताए ।
यस्तै, गृह मन्त्रालयका सहसचिव जितेन्द्र बहादुर बस्नेत, सहकारी विभागका रजिस्टार नवराज घिमिरेसंग भेटेर बागलुङको शिवशिखर बहुउद्देश्यीय सहकारी र इमेज सहकारीको समस्याबारे अवगत गराईएको केसीले जानकारी दिए ।